हौसलपुर झोलुङ्गे पुल जोखिममा

Image
maya metro

धनगढी – धनगढीको कैलारी गाउँपालिका–७ स्थित नेपाल–भारतलाई जोडेको मोहना नदीमा रहेको हौसलपुर झोलुङ्गे पुल जोखिममा परेको छ । पुलको पश्चिमतर्फको पिल्लर कटानमा परिरहेकाले पुल जोखिममा परेको हो । यो पुल नेपाल–भारतका नागरिकबिचको सम्बन्धको सेतु बन्दै आएको छ ।

स्थानीयका अनुसार गत वर्षदेखि पुलको पिल्लरतर्फ कटान सुरु भएको थियो । यस वर्ष थप कटान भइरहेको कैलारी गाउँपालिका–७, भुइँयाफाँटाका दीपेन्द्र चौधरीले बताए।

nisarga

उनले भने, “यस वर्ष नदीमा ठुलो बाढी नआएर मात्रै पुल जोगिएको छ । पुल जोगाउनका लागि बेलैमा तटबन्ध गर्नु अति आवश्यक भइसक्यो ।”

भारतमा निर्भर रहेको मोहना नदीपारिको सीमावर्ती नेपाली गाउँ हौसलपुरसहित अन्य गाउँका स्थानीयको सहज आवतजावतका लागि ७५ लाख रुपियाँ लगानीमा २०७९ मा यो पुल बनाइएको थियो । झोलुङ्गे पुल बनेपछि बल्ल मुलुकको नागरिक भएको महसुस गरेका हौसलपुरवासी पुल कटानको जोखिममा परेपछि चिन्तित छन् ।

पुल कटानको जोखिमले जनप्रतिनिधिलाई पनि चिन्तित बनाएको वडा सदस्य टुनिराम चौधरीले बताए । बल्लतल्ल बनेको पुल कटानको जोखिममा परेपछि तटबन्ध निर्माणका लागि सहयोग खोजिरहेको उहाँको भनाइ छ । उनले भने, “वडाको बजेटले तटबन्ध निर्माण गर्न सम्भव नरहेको स्रोतको खोजी गर्नुपर्ने छ ।”

कैयौँ वर्षको मागपछि बल्ल बल्ल बनेको पुल कटानको जोखिमले चिन्तित बनाएको सो गाउँका जुगराम चौधरीले बताउनुभयो । उहाँले पुल कटान हुनबाट जोगाउनका लागि सरकारलाई आग्रह गरे ।

पुल नहुँदा हौसलपुरवासी डुङ्गाको भरमा ओहोरदोहोर गर्दै आएका थिए । नदीमा ठुलो बाढी आएको बेला आवतजावत नै बन्द हुने गरेको थियो । झोलुङ्गे पुल बनेपछिमात्रै विभिन्न सेवा, सुविधा उपभोगका लागि सहज भएको थियो ।

यो पुल बनेपछि भुइँयाफाँटा, रामपुर, तिघरी, वसन्ता, छटकपुर वसन्ता, रतनपुरलगायतका गाउँवासीलाई पनि पारिसम्म ओहोरदोहोर गर्न सहज भएको छ ।

सीमावर्ती गाउँका स्थानीय दैनिक उपभोग्य सामान किनमेलका लागि पारि भारत जाने गरेका छन् । त्यस्तै भारतीय सीमावर्ती गाउँ बेलापरसुआ, गोलबोझी, बेलरायाँलगायतका गाउँका स्थानीयलाई पनि नेपाल आउजाउ गर्न सहज भएको थियो ।