मालाखेती अस्पतालमा सर्पदंश उपचार केन्द्र अझै सञ्चालनमा आएन

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–३ स्थित मालाखेती अस्पतालमा सर्पदंश उपचार केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन । गत साउनमै सर्पदंश उपचार केन्द्र सञ्चालन गर्ने भनिए पनि असोज मसान्तसम्म सञ्चालनमा आउन नसकेको हो।

गोदावरी नगरपालिकाको १५ औँ नगर अधिवेशनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा बजेटमार्फत पनि मालाखेती अस्पतालमा सर्पदंशको उपचार सेवा विस्तार गर्ने घोषणा गरिएको थियो।

nisarga

गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले साउनमै सर्पदंश उपचार केन्द्र सञ्चालन गर्ने बताएका थिए।

सर्पदर्शका बिरामीलाई स्थानीय स्तरमै उपचार उपलब्ध गराउने उद्देश्यले बजेट विनियोजन गरी गत असारमै आवश्यक उपकरण र स्वास्थ्यकर्मीलाई तालिम दिने कामसमेत सम्पन्न भए पनि उपचार सेवा सञ्चालनमा आउन नसकेको हो।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले जनशक्ति अभावका कारण सेवा सञ्चालन गर्न नसकिएको बताए। सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न जनप्रतिनिधि, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अभिमुखीकरणको कार्य समेत तीन महिना अघि नै सकिएको उनले बताए।

सर्पदंशको उपचारका लागि नेपाल सरकारको मापदण्ड अनुसारका सम्पूर्ण उपकरण पनि जडान गरी व्यवस्थापनको सम्पूर्ण कार्य समेत सम्पन्न भइसकेको बताए।

‘सर्पदंश उपचारका लागि हामीले सम्पूर्ण उपकरणहरु जडान गरिसकेका छौँ, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अभिमुखीकरणको कार्य समेत गत असारमै गरेका हौँ, तर जनशक्ति अभावका कारण सञ्चालन गर्न सकेका छैनौ।,उनले भने।’

अस्पतालमा कार्यरत दुई जना चिकित्सकमध्य एक जना आफै जटिल स्वास्थ्य समस्यासंग जुधिरहेका छन् भने अर्को एक जनाको सरुवा हुन अब केही दिन मात्रै बाँकी रहेकोले सेवा सञ्चालन गर्न कठिनाइ भएको उनको भनाई छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. नरबहादुर मौनीका अनुसार सर्पदंशका बिरामीको उपचार दक्ष चिकित्सकको निगरानीमा गर्नुपर्ने हुन्छ।

त्यसका लागि स्वास्थ्यकर्मीलाई आवश्यक तालिममा पठाउनुपर्ने भए पनि जनशक्ति अभावका कारण तालिममा पठाउन नसकिएको र उपचार सेवा सञ्चालनमा ल्याउन कठिनाइ भएको उनले बताए।

सर्पदंश उपचार केन्द्र सञ्चालनमा नआउँदा गोदावरी नगरपालिका तथा आसपासका क्षेत्रका नागरिकले सर्पले टोकेमा समयमै उपचार पाउन कठिनाइ भोग्नुपर्ने अवस्था कायमै छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार २०८३ वैशाखदेखि असोजसम्म मात्रै सर्पदंशबाट गोदावरीका चार जनाले ज्यान गुमाएका छन् । यो अवधीमा गोदावरीमा १४ वटा सर्पदशंका घटना भएका छन्।

समयमै उपचार पाएमा ज्यान जोगाउन सकिने केशहरु पनि हुने भएकोले मालाखेती अस्पतालमा सर्पदंश उपचार केन्द्र यथाशिघ्र सञ्चालनमा ल्याउनुपर्ने वडा नम्बर १० का वडा अध्यक्ष रविन्द्र शाही बताउँछन्।