
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका-५ स्थित गेटामा रहेको गेटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको तेस्रो चुनावी साधारण सभा सम्पन्न भएको छ ।
शनीबार (आज) समितिका अध्यक्ष लोकेन्द्र धामीको सभा अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमादेवी विष्ट प्रमुख अतिथि रहेकी थिइन् ।

कार्यक्रममा बोल्दै विष्टले खानेपानी स्वस्थ जीवनको आधार भएकोले महत्वका साथ हेरिनुपर्ने बताइन् । उनले वर्तमान समितिले सिमित स्रोत साधनकाबिच खानेपानी वितरण गर्नु तारिफयोग्य भएको बताइन् ।

कार्यक्रममा विशिष्ट अतिथि रहेकी गोदावरी नगरपालिकाकी पूवै नगर उप प्रमुख रत्ना कडायतले खानेपानीलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताइन् ।
कार्यक्रमका सभाअध्यक्ष धामीले वडा नम्बर ५ ले प्रत्येक वर्ष केहि रकम खानेपानीलाई सहयोग गर्दै आएको भए पनि प्रदेश सरकारलाई बजेट माग गर्दा न्यून बजेट छुट्याएको गुनासो गरे ।
खानेपानीलाई प्राथमिकतामा राखेर बजेट निर्धारण गर्न उनले प्रदेश सरकारसंग आग्रह गरे । गेटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको तेस्रो चुनावी साधारण सभामा जिल्ला डिभिजन खानेपानीका प्रतिनिधि,विभिन्न संघ संस्थाका प्रतिनिधिसहित उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।
अध्यक्षमा धामी दोहोरिए
गेटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा लोकेन्द्र धामी दोहोरिएका छन् । समितिको शनीबार आज बसेको तेस्रो चुनावी साधारण सभाले अध्यक्षमा धामीलाई नै दोहोर्याउने निर्णय गरेको हो ।
त्यस्तै समितिको उपाध्यक्षमा भानदेव पनेरु र सचिवमा ईगेश विष्ट पनि दोरिएका छन् । समितिको कोषाध्यक्षमा विमला कडायत चयन भएकी छन् भने सह–सचिवमा किरण भट्ट चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा अमृत बम, दिल बहादुर विक, बलदेव भट्ट र निर्मला बोहरा चयन भएका छन् । २०७४ सालमा स्थापना भएको गेटा खानेपानीमा हाल ६८३ जना उपभोक्त रहेका छन् ।















