सेती अस्पतालका चिकित्सकलाई कार्यालय समयमा निजी क्लिनिक जान रोक, उल्लंघन गरे कारबाही हुने

Image
maya metro

धनगढी – सेती प्रादेशिक अस्पताल, धनगढीले अस्पतालमा कार्यरत चिकित्सकहरूलाई कार्यालय समयभित्र निजी क्लिनिक तथा अन्य स्वास्थ्य संस्थामा काम गर्न रोक लगाएको छ।

अस्पताल प्रशासनले मंगलबार सूचना जारी गर्दै केही चिकित्सकहरू कार्यालय समयमै बाहिरका निजी क्लिनिक तथा स्वास्थ्य संस्थामा सेवा दिने गरेको गुनासो प्राप्त भएपछि यस्तो निर्णय गरिएको जनाएको हो।

nisarga

अस्पतालका अनुसार नियमित स्वास्थ्य सेवा प्रभावकारी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउन सबै चिकित्सकलाई कार्यालय समयभरि आ–आफ्नो जिम्मेवारीमा उपस्थित भई तोकिएको कार्यसम्पादन गर्न निर्देशन दिइएको छ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। हेमराज पाण्डेद्वारा जारी सूचनामा कार्यालय समयभित्र कुनै पनि चिकित्सक निजी क्लिनिक वा अन्य स्वास्थ्य संस्थामा कार्यरत रहेको पाइएमा प्रचलित कानुन तथा सेवा–शर्तअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ।

अस्पताल प्रशासनले चिकित्सकहरूलाई तोकिएको कार्यसमयमा अस्पतालमै उपस्थित भई सेवाग्राहीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन दिएको छ।