
अत्तरिया – नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेताहरुले विशेष महाधिवेशनको नाममा कांग्रेस सक्ने प्रयास भएको दावी गरेका छन् ।
मंगलबार पार्टीको कैलालीको गोदावरी नगर अधिवेशनमा बोल्नै सबै नेताहरुले विशेष महाधिवेशनको कडा विरोध गरेका हुन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य निर्पबहादुर ओडले नेपाली कांग्रेसको विशेष महाधिवेशन कुनै पनि हालतमा वैधानिक नभएको दाबी गरे।

उनीहरूले पार्टीका महामन्त्री गगन थापाले विधान विपरीत विशेष महाधिवेशन आह्वान गरेको आरोप लगाए । आफूहरु सहित ठाउँमा उभिएको बताउँदै उनले चारतारे झण्डा र रुख चिन्ह पनि आफूहरुले नै पाउने बताए।
नेपाली कांग्रेस कैलालीका जिल्ला सभापति नारायणदत्त भट्टले विशेष महाधिवेशनको नाममा पार्टीलाई कमजोर बनाउने काम भइरहेको बताए।
गोदावरी नगर अधिवेशनलाई सम्बोधन गर्दै भट्टले महामन्त्री गगन थापाले विशेष महाधिवेशनका नाममा पार्टीलाई समाप्त पार्ने दिशामा अघि बढेको आरोप लगाए ।
उनले कांग्रेसका सभापति तथा पार्टीका अभिभावक शेरबहादुर देउवामाथि अपमान गर्ने अधिकार कसैलाई नभएको बताए। पार्टीको नेतृत्व र अभिभावकत्वप्रति सम्मान कायम राख्दै विधि, विधान र संस्थागत प्रक्रियाअनुसार पार्टी अघि बढ्नुपर्ने उनको भनाइ थियो।
त्यस्तै पार्टीका महासमिति सदस्य एवम् गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले विशेष महाधिवेशनको प्रक्रियाबारे प्रश्न उठाउँदै यसले पार्टीभित्र थप विवाद र विभाजन निम्त्याएको गरे।
नेपाल तरुण दलका केन्द्रीय सदस्य तेज खड्काले नेपाली कांग्रेस विधि, विधान र प्रक्रियाअनुसार चल्नुपर्ने बताएका छन् । उनले आफू कुनै पनि पदको लोभ नराखी पार्टीका लागि निरन्तर खटिने बताएका छन् ।
उनले पार्टीमा पदको अपेक्षा राख्नेहरू गगन थापाको पक्षमा गएको र पार्टीलाई माया गर्नेहरू शेरबहादुर देउवाको पक्षमा रहेको बताए। उनले कांग्रेसका हरेक निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन खटिँदै आएका कार्यकर्ताहरू अहिले पनि देउवाको पक्षमा रहेको दाबी गरे।
चुनावमा पार्टीका लागि खटिने र नेतृत्वलाई जिताउन मैदानमा जाने अधिकांश पुराना तथा अनुभवी अनुहारहरू यही पक्षमा रहेको उनको भनाइ थियो। “चुनावमा खट्नेहरू, नेताहरूलाई जिताउन लाग्ने अनुहारहरू, बुढा–पाका अनुहारहरू यहीँ छन्। जसलाई पद चाहिएको थियो, उनीहरू पदको खोजीमा अन्त गएका छन्,” खड्काले भने।
पार्टीकी किसान महासंघ ट्रेड युनियकी केन्द्रिय सदस्य शान्ति सिंह शाहीले गगन थापाले अदालत र निर्वाचन आयोगलाई प्रभावमा पारेर पार्टी कब्जा गरेको बताइन्। बहुमत नेता, कार्यकर्ता अहिले पनि देउवाकै पक्षमा रहेको उनले बताइन्।
अधिवेशनमा बोल्ने नेताहरुले विशेष महाधिवेशनको नाममा पार्टी कब्जा गर्ने उद्देश्य राखिएको दाबी गर्दै अदालत र निर्वाचन आयोगसमेत प्रभावमा पारेर प्रक्रिया अघि बढाइएको आरोप लगाए।
शेरबहादुर देउवा कमजोर भएको अवस्थामा पार्टीको अभिभावकत्व कमजोर बनाउँदै थापाले पार्टी कब्जा गर्न खोजेको उनीहरूको आरोप थियो। कुनै पनि दवाव र प्रभावमा नपरी विशेष महाधिवेशनमा नगएकाहरु नै सच्चा कांग्रेस भएको उनीहरुले बताएका छन् ।















