दुर्गालक्ष्मी नमुना माविमा खाद्यान्न बैंक स्थापना, विपन्न परिवारलाई खाद्यान्न वितरण गरिने

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२, अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले खाद्यान्न बैंक स्थापना गरेको छ ।

विद्यालयमा अध्ययनरत कमजोर आर्थिक अवस्था भएका बालबालिकाका परिवारलाई सहयोग गर्ने उद्देश्यले खाद्यान्न बैंक स्थापना गरिएको हो ।

nisarga

खाद्यान्न बैंकमार्फत आर्थिक रूपमा विपन्न विद्यार्थीका परिवारलाई आवश्यकताका आधारमा खाद्यान्न वितरण गरिने विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक वीरसिंह महताका अनुसार खाद्यान्न बैंकबाट हरेक महिनाको अन्तिममा विपन्न परिवारहरुलाई खाद्यान्न वितरण गरिनेछ ।

आर्थिक अभावका कारण दैनिक गुजारा चलाउन कठिनाइ भोगिरहेका विद्यार्थीका परिवारलाई राहत पु¥याउने र उनीहरूको जीवनयापनमा सहयोग गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको महताले बताएका छन् ।

खाद्यान्न लिने बालबालिकाको गोपनियता कायम गरिने उनले बताएका छन् । पढाईमा कमजोर विद्यार्थीको कारण खोज्दै जाँदा पारिवारिक अवस्थाबारे थाहा भएपछि आफूहरुले खाद्यान बैंक स्थापनाको अवधारणा अघि सारेको महताले बताए।

पढाइमा कमजोर रहेका विद्यार्थीको अवस्था बुझ्ने क्रममा उनीहरूको दयनीय पारिवारिक अवस्थाबारे थाहा पाएपछि खाद्यान्न बैंक स्थापनाको अवधारणा अघि सारेको प्रधानाध्यापक महताले बताए ।

उनका अनुसार कतिपय विद्यार्थीका अभिभावक गरिबीको रेखामुनि रहेका, कतिपयका आमाबुबा दुवै अस्वस्थ भएर तनावपूर्ण वातावरणमा हुर्किनुपरेको तथा कतिपय बालबालिका आमाबुबाको सम्बन्धविच्छेदपछि एक्लै बस्न बाध्य रहेका छन् ।

त्यस्तै आमाबुबा दुवै गुमाएका केही बालबालिका आफन्तको आश्रयमा बस्दै आएको पनि उनले बताए । यस्तो अवस्था देखेपछि भोकै पेटमा बालबालिकाले राम्रोसँग पढ्न नसक्ने भएकाले उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न खाद्यान्न बैंक स्थापना गरिएको महताले बताए ।

“दुर्गालक्ष्मीमा अध्ययनरत कुनै पनि बालबालिका भोकै बस्न नपरोस् र उनीहरूले राम्रोसँग पढेर आफ्नो भविष्य उज्ज्वल बनाउन सकून् भन्ने उद्देश्यले खाद्यान्न बैंक स्थापना गरेका हौँ,” उनले भने ।

खाद्यान्न बैंकलाई ‘हुनेले दिएर जाने र नहुनेले लिएर जाने’ अवधारणाअनुसार सञ्चालन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिदत्त भट्टराईले बताएका छन् ।

पहिलो चरणमा विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति, तथा दुर्गालक्ष्मी अभिभावक संघलगायतबाट खाद्यान्न संकलन गरिएको उनले बताए ।

आगामी दिनमा इच्छुक दाता तथा सहयोगी संस्थाले पनि खाद्यान्न बैंकमा सहयोग गर्न सक्ने उनले बताएका छन्। २५ किलो चामल, ५ किलो पिठो,तेल,दाल र नुन वितरण गरिएको हो ।