डडेल्धुरा – नेकपा (एमाले) डडेल्धुराको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ।
परशुराममा मंगलबार साँझ सम्पन्न भएको नवौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चुनिएको हो। जिल्ला अध्यक्षमा गजेन्द्र शाही चयन भएका छन्।
जिल्ला कमिटीको उपाध्यक्षमा दुर्गा गिरी, सचिवमा सिद्धराज भट्ट, उपसचिव (महिला)मा इन्द्रिरा ताम्राकार, उपसचिव (खुल्ला)मा प्रकाशसिंह बोहरा निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए। उनका अनुसार लेखा समिति अध्यक्षमा तुलाराम पनेरु र सचिवमा लोकेन्द्र ओझा चयन भएका छन्।
शाही गन्यापधुरा गाउँपालिका–३ सकायलका हुन्। शाहीले २०५३ सालमा अनेरास्ववियुको जिल्ला कमिटी उपसचिव हुँदै राजनीति सुरु गरेका हुन्।
उनी त्यसपछि जिल्ला सचिव हुँदै ०५९ मा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सहसंयोजक र ०६३ मा जिल्ला अध्यक्ष बनेका थिए।
युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष समेत बनेका उनले सोही समयमा सुदूरपश्चिम प्रदेश र लुम्बेनी प्रदेश इन्चार्जको जिम्मेवारी समेत सम्मालेका थिए।
उनी ०६५ मा एमाले डडेल्धुराको जिल्ला कमिटी सदस्य भएका थिए। संक्रमण कालिन अवस्थामा जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्मालेका शाही जिल्ला संयोजकको रूपमा रहेका थिए।