
अत्तरिया – २० वर्ष नपुग्दै आमा बन्नेकोे सङ्ख्या बढ्दो क्रममा देखिएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–३ मा रहेको मालाखेती अस्पतालमा गत आर्थिक वर्ष २०८०/८१ मा २३५ जनाले सुत्केरी सेवा लिएकोमा ४२ जना २० वर्ष मुनीका रहेका छन् । यो सङ्ख्या झण्डै १८ प्रतिशत हो । मालाखेती अस्पतालका जनस्वास्थ्य निरीक्षक तथा सूचना अधिकारी सत्यराज फुलाराका अनुसार २० वर्ष भन्दा कम उमेरमा आमा बन्नेको सङ्ख्या आर्थिक वर्ष २०७९/८० मा झण्डै १४ प्रतिशत थियो ।
आर्थिक वर्ष २०७९/८० मा यस अस्पतालमा ३९७ जना सुत्केरी भएकोमा ५७ जना २० वर्ष मुनीका थिए । गत वर्ष १३ वर्षीय किशोरीले समेत बच्चा जन्माएको मालाखेती अस्पतालकी नर्सिङ इन्चार्ज यसोदा ढकालले बताईन् । २० वर्षभन्दा कम उमेरमा बच्चा जन्माउनेहरु अधिकाशंले भागेरै बिहे गरेको देखिने उनी बताँउछिन् । कानुनको प्रभावकारी कार्यान्वयन नहुनु र केटाकेटी साथी बन्नका लागि बिहे नै गर्नुपर्छ भन्ने समाजिक परिवेशका कारण पनि बाल विवाह घट्न नसकेको उनको भनाई छ ।

यो पनि : चुनौति बन्दै आफुखुसी बाल विवाह
कम उमेरमा गर्भवती हुँदा आमा र शिशु दुवैलाई जोखिम रहन्छ । महिला र पुरुषको उमेर २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने कानुनी प्रावधान भए पनि यहाँ भने लागु हुनसकेको छैन । कानुन अनुसार बालविवाह गराइएमा तीन वर्ष कैद र जरिवानाको व्यवस्था रहे पनि व्यवहारमा भने कडाइ गरेको पाइँदैन। मुलुकी अपराध संहिता २०७४ को दफा १७३ को उपदफा १ मा २० वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन नहुने व्यवस्था छ । ऐनको उपदफा २ मा २० वर्षभन्दा कम उमेरमा हुने विवाह स्वतः बदर हुने उल्लेख छ । उपदफा ३ मा २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने, गराउने व्यक्तिलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरेको छ । सरकारले सन् २०३० सम्ममा मुलुकबाट बालविवाह अन्त्य गर्ने घोषणा गरेको छ ।
कलिलै उमेरमा विवाह गर्ने किशोरी र उसबाट जन्मने शिशु जोखिममा पर्ने मात्रै होइन, अधिकांश बालविवाहहरू सम्बन्धविच्छेदमा परिणत हुने गरेको देखिन्छ । बालविवाहले महिला र बालबालिकालाई उच्च जोखिममा पार्ने गरेको छ । बालविवाहका कारण वैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउँदा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिने, लैंगिक र यौनजन्य हिंसा, बालश्रम, बेचबिखनजस्ता थप हिंसाले बालिका र महिला थप प्रताडित हुने गरेको पाइन्छ ।
















