अत्तरिया – २०८१ सालको दसैँ अवधिभर सुदूरपश्चिममा २१ वटा सडक दुर्घटना भएका छन् । प्रदेशका ९ जिल्ला मध्य ४ जिल्लामा २१ वटा सवारीसाधन दुर्घटनामा परेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका सूचना अधिकारी ट्राफिक प्रहरी निरीक्षक सुरजबहादुर खड्काले जानकारी दिए । जस्मा ९ पुरुष,३ महिला र १ बालबालिका गरि १३ जनाले ज्यान गुमाएका छन् भने ४६ जना घाइते भएका छन् ।
घाइत मध्ये २५ जना पुरुष, ३ महिला र ३ बालबालिका गरि ३१ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बाँकी १५ जनाको अवस्था मध्यम तथा सामान्य रहेको छ । उत्त अवधिमा सबैभन्दा बढी दुर्घटना कैलालीमा भएका छन् ।
असोज १७ गते घटस्थापनाको दिनदेखि असोज ३० गते पूर्णिमा सम्मकोे अवधिमा कैलालीमा भएका १७ वटा सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाउनुका साथै २६ जना घाइते भएका छन् । त्यस्तै, कञ्चनपुर र बझाङमा एक–एकजनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ ।
कञ्चनपुरमा ६ जना घाइते भएका छन् । डडेल्धुरामा भएका दुईवटा दुर्घटनामा पाँचजनाले ज्यान गुमाउनुका साथै १४ जना घाइते भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । डडेल्धुरामा मंगलबार राति पवनदुत यातायातको रात्रिबस दुर्घटना हुँदा एकै परिवारका तीनसहित पाँचजनाको मृत्यु भएको थियो भने १२ जना घाइते छन् ।
प्रदेशका अन्य जिल्लामा भने यो अवधिमा दुर्घटना नभएको प्रहरीले जनाएको छ । त्यस्तै सोहि अवधिमा ७९२ मोटरसाइकलसहित एक हजार ८५३ सवारीसाधन कारबाहीमा परेका छन् । जसबाट ट्राफिक प्रहरीले १३ लाख ५८ हजार रुपियाँ राजश्व संकलन गरेको छ ।
गत वर्ष दसैँ अवधिमा सुदूरपश्चिमका विभीन्न जिल्लामा भएका १४ सडक दुर्घटनामा ९ जनाले ज्यान गुमाएका थिए भने ६ जना घाइते भएका थिए । त्यस्तै गत वर्ष २ हजार ३३६ सवारी साधन कारबाहीमा पर्दा ट्राफिक प्रहरीले १५ लाख ४ हजार रुपियाँ राजश्व संकलन गरेको थियो ।