
अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले वार्षिक बजेट प्रस्तुत गरेका हुन्।
चालु आर्थिक वर्ष सुरु भएको झण्डै तीन महिनापछि प्रदेश सरकारले बजेट ल्याएको हो। यसअघि नेपाली कांग्रेस नेतृत्वको सरकारले गत असार १ गते ३७ अर्ब ७० करोड रुपैयाँकै बजेट प्रस्तुत गरेको थियो। तर, बजेटसम्बन्धी विवादका कारण सरकार परिवर्तन भएपछि उक्त बजेट पारित हुन सकेको थिएन।

अघिल्लो सरकारले प्रदेशसभामा पेस गरेका विनियोजन विधेयक र आर्थिक विधेयक फिर्ता लिने प्रस्ताव आइतबारको बैठकबाट स्वीकृत भएपछि नयाँ बजेट सार्वजनिक गरिएको हो।















