
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–४ गोदावरीमा रहेको गोदावरी सामुदायिक वन उपभोक्ता समूहको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
आज एक कार्यक्रमका बीच सामुदायिक वनका संस्थापक अध्यक्ष स्वर्गीयसन्तवीर थापाकी धर्मपत्नी तारा देवी थापा, पूर्व अध्यक्षहरू दुर्गाप्रसाद तिवारी,प्रकाशचन्द्र तिवारी, निवर्तमान अध्यक्ष दिल बहादुर मडै तथा वर्तमान कार्य समिति अध्यक्ष निर्मलकुमार मगरले संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन् ।

सामुदायिक वनले आफ्नै लगानीमा करिब २८ लाख रुपैयाँ खर्च गरेर भवन निर्माण गरेको हो । लामो समयदेखि आफ्नै भवन नहुँदा कार्यालय सञ्चालनमा समस्या भोग्दै आएको समूहले नयाँ भवन निर्माणसँगै सहज रूपमा सेवा प्रवाह गर्न सक्ने अपेक्षा गरेको छ ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै सामुदायिक वनका अध्यक्ष मगरले आफू निर्वाचित भएर आएदेखि नै भवन निर्माणलाई प्राथमिकतामा राखेको बताए । उनले आफ्नै भवन नहुँदा कार्यालय सञ्चालनमा विभिन्न समस्या हुने गरेको उल्लेख गर्दै जतिसक्दो छिटो भवन निर्माण गरी कार्यालय सञ्चालनलाई सहज बनाउने आफ्नो लक्ष्य रहेको बताए ।
स्थानीयको सहयोग र सहकार्यमा भवन निर्माण कार्य सम्पन्न भएको उल्लेख गर्दै अध्यक्ष मगरले नयाँ भवनबाट सामुदायिक वनको दैनिक प्रशासनिक कामकाज सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरे ।
सामुदायिक वनले विभिन्न प्रयोजनका कार्यक्रम सञ्चालन गर्न मिल्ने हलसमेत निर्माण गरेको छ । उक्त हल सामुदायिक वनका उपभोक्ता तथा अन्य व्यक्तिहरूलाई आवश्यकताअनुसार भाडामा उपलब्ध गराइने अध्यक्ष मगरले बताए ।
हल भाडामा लिँदा सामुदायिक वनका उपभोक्तालाई विशेष छुटको व्यवस्था गरिने र अन्य व्यक्तिका लागि छुट्टै भाडादर निर्धारण गरिने जनाइएको छ ।















