च्याउ बेचेर वार्षिक ८ लाख बचत

Image
maya metro

डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिका–२ मौरडाका खेमराज जोशीले ६ वर्षअघि दुई लाख ५० हजार लगानी गरेर व्यावसायिक च्याउखेती सुरु गरेका थिए।

उनले च्याउ बिक्री गरेर वार्षिक २० देखि २५ लाख रुपैयाँसम्म कारोबार गर्दै आएका छन्। ३३ वर्षीय जोशीले कक्षा १२ सम्म अध्ययन गरेपछि विदेश जाने योजना बनाएका थिए। तर विदेश जाने योजनासहित काठमाडौँ पुगेका जोशीले त्यहाँ रहँदा विभिन्न किसिममा कृषि फार्महरूको अवलोकन गरेपछि च्याउखेती गर्ने योजना बनाएर गाउँ फर्किएका थिए।

nisarga

अहिले परिवारको सबै खर्च कटाएर वार्षिक ८ लाखसम्म बचत हुने गरेको उनले बताए। दुई रोपनी जग्गा भाडामा लिएर च्याउको बीउ उत्पादनका साथै खेतीसमेत गर्दै आएको उनले बताए। ६ वर्षअघि सुरु भएको च्याउखेतीबाट उनी अहिले जिल्लाकै नमूना कृषकका रूपमा स्थापित छन्। उत्पादित च्याउ स्थानीय बजारमा खपत हुने गरेको छ।

एकपटकमा तीन सय किलोसम्म च्याउ बिक्री हुने गरेको उनले बताए। कम लगानीमा मनग्य आम्दानी लिन सकिने बताउँदै उनले जीविकोपार्जनका लागि युवा विदेश जानुभन्दा स्वदेशमा नै स्वरोजगार बन्न सकिनेसमेत बताएका छन्। विदेशमा लगानी गर्ने श्रमले स्वदेशमा दोब्बर आम्दानी हुने उनको अनुभव छ।

अहिले प्रतिकिलो दुई सयका दरले च्याउ बिक्री हुँदै आएको छ। फार्ममा अहिले सात जनालाई रोजगारी दिएको भन्दै उनले आगामी दिनमा च्याउखेती विस्तार गर्दै लैजाने योजना रहेको बताए। स्थानीयस्तरमै आम्दानीका स्रोत बनाउनसके युवाको विदेश पलायनदरमा कमी आउने उनको बुझाइ छ।

रासस