७० प्रतिशत मानसिक रोगी स्वास्थ्य सेवाको पहुँच बाहिर

Image
maya metro

सुदूरपश्चिम – मानसिक स्वास्थ्य समस्या हुनेहरुमध्ये ७० प्रतिशत व्यक्ति अझै पनि स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसकेको पाइएको छ।

विकासोन्मुख देशमा मानसिक स्वास्थ्य सेवामा बजेट न्यून विनियोजन हुने र उपलब्ध स्वास्थ्योपचार सेवा पनि सहर केन्द्रित हुँदा ठूलो संख्यामा मानसिक रोगी स्वास्थ्य सेवाको पहुँचबाहिर छन्। धनगढीमा आयोजित मानसिक स्वास्थ्यको अवस्था र मानसिक स्वास्थ्य रणनीतिक कार्ययोजनासम्बन्धी अन्तरक्रियामा नेपालमा मानसिक स्वास्थ्य समस्या बर्सेनि बढ्दै गएको बताइएको छ।

nisarga

अस्पताल तथा स्वास्थ्य संस्थामा आवश्यक मनोचिकित्सकको व्यवस्थापन हुन नसक्दा यो समस्या थप गम्भीर बन्दै गएको छ। मानसिक स्वास्थ्यको मुख्य समस्याको रुपमा ‘डिप्रेसन’ र ‘एन्जाइटिस’ देखिएको छ। समुदायमा पत्ता लाग्ने मानसिक स्वास्थ्य समस्यामध्ये २८ प्रतिशत ‘डिप्रेसन’ र ४० प्रतिशत ‘एन्जाइटिस’सँग सम्बन्धित समस्या हुने गरेको छ।

मानसिक रोग प्रवद्र्धनको क्षेत्रमा कार्यरत मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रले यो रोगको रोकथामका लागि चेतनामूलकलगायतका गतिविधि गर्दै आएको छ। केन्द्रका प्रादेशिक संयोजक हिमाल गैरेले कार्यक्रममा मानसिक स्वास्थ्य तथा मनोसामाजिक कार्यक्रमलाई विभिन्न कार्यक्रममा मूलप्रवाहीकरण गर्न जरुरी रहेको बताए।

घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले मानसिक स्वास्थ्यको समस्यालाई केन्द्रित गरेर गाउँ र वडा तहसम्म योजना बनाएर अघि बढ्न जरुरी भइसकेको बताए। सामाजिक विकास मन्त्रालयका सचिव चक्रपाणि पाण्डेले आवश्यक जनशक्तिको अभावले स्वास्थ्यसम्बन्धी गतिविधि प्रभावकारी ढङ्गले सञ्चालन गर्नमा कठिनाइ भएको बताए।

सरकारले निःशुल्करुपमा उपलब्ध गराउने ११ प्रकारका औषधि मानसिक रोगसँग सम्बन्धित छन्। विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कका अनुसार विश्वमा प्रतिएक लाख जनसङ्ख्यामा ११ जनाले देहत्याग गर्ने गरेका छन्। नेपालमा यो संख्या प्रतिएक लाख जनसंख्यामा २३ दशमलव चार जना छन्।
रासस