गोदावरीमा जग्गा विवाद : सेनाले आयोजना गर्यो छलफल

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा रहेको जग्गा विवाद टुङ्ग्याउन नेपाली सेनाले छलफलको आयोजना गरेको छ । सुदूरपश्चिम पृतना हेडक्वाटर तेघरी ब्यारेकले शुक्रबार ब्यारेकमै छलफलको आयोजना गरेको हो ।

छलफलमा नेपाली सेनाका तर्फबाट केहि प्रतिनिधिहरुसहित गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट, नगर प्रवत्ता एवम् वडा नम्बर १ का अध्यक्ष गोपालदत्त भट्ट, इलाका वन कार्यालय गोदावरीका प्रतिनिधि, दुर्गालक्ष्मी सामुदायिक वनका प्रतिनिधि, स्थानीय मेघराज भट्ट लगायतको उपस्थिति रहेको थियो ।

nisarga

उसो त सेनाले यसअघि ६१ घरधुरीका प्रतिनिधिहरुसंग पनि अनौपचारिक छलफल गरेको थियो । छलफलमा नेपाली सेनाका प्रतिनिधिले आफूहरुले आफ्नो क्षेत्रमा तारवार गरिरहेको जानकारी गराएका थिए । त्यस्तै सेनाको भोगाधिकारमा रहेको जग्गामा बसोबास गरिरहेका ६१ घरधुरी तथा निर्माण गरिएको अत्तरिया बसपार्क, रेडक्रस भवन र लामीतालका विषयमा उपस्थित प्रतिनिधिहरुले धारणा राखेको छलफलमा सहभागी एक प्रतिनिधिले बताए ।

यो पनि : अत्तरिया बसपार्कमा सेनाको दावी

सेनाका प्रतिनिधिहरुले भने करिब २ हेक्टर जमिन आफूहरुलाई अन्तै उपलब्ध गराए यि स्थानहरु छोड्न तयार रहेको बताएका थिए । यद्यपी हाल तारवारको काम चलिरहेको हुँदा आफ्नो भोगाधिकारमा रहेको प्राय सबै जग्गामा तारवार गर्ने उनीहरुको आशय थियो । छलफलमा नगर प्रमुख भट्टले ६१ घरधुरी तथा निर्माण गरिएको अत्तरिया बसपार्क, रेडक्रस भवन र लामीताल छोड्नु नै पर्ने र सो बराबरको जग्गा नेपाली सेनालाई उपलब्ध गराउन आफू प्रतिवद्ध रहेको दोहोर्याएका थिए ।

छलफलमा सहभागी दुर्गालक्ष्मी सामुदायिक वनका प्रतिनिधिहरुले आगामी साधारण सभामा सो प्रस्ताव पेश गर्ने र उपभोक्ताको सुझाव अनुसार निर्णय गर्ने बताएका थिए । उनीहरुले २०५२ सालदेखि नै दुर्गालक्ष्मी सामुदायिक वन स्थानीयले संरक्षण गरेको भन्दै अतिक्रमण गरेको समयमा, स्थानीयले पक्की भवन निर्माण गरिरहेको समयमा किन दाबी नगरेको? भन्दै सेनाका प्रतिनिधिहरुलाई प्रश्न गरेका थिए । त्यसमा भने आफूहरु चुकेको सेनाका प्रतिनिधिहरुले जवाफ दिएका थिए ।

यो पनि :  अत्तरिया बसपार्कको स्तरोन्नतिमा नेपाली सेना बाधक

गोदावरी नगरपालिका वडा नं. २ (साविक मालाखेती गा.वि.स. वडा नं. ७) स्थित अत्तरियाको पूर्वपश्चिम राजमार्गबाट मोटरेवल कच्ची बाटो पश्चिम दिपायल जाने पक्की सडक, दक्षिण पूर्वपश्चिम राजमार्ग तथा उत्तर तर्फको जंगल नक्सा सिट नं. ०२७–०३६६ कित्ता नं. ६ को १७.५ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा तत्कालिन शाही नेपाली जंगी अड्डाको नाममा भोगाधिकार हस्तान्तरण गर्ने सम्बन्धमा तत्कालिन श्री ५ को सरकार मन्त्रिपरिषदबाट २०६२।१२।१० मा निर्णय भएको र रक्षा मन्त्रालयको चलानी नं. ३४४३ मा २०६३।१२।१६ गतेबाट नेपाली सेनालाई भोगाधिकार भएको उल्लेख गरिएको सेनाले बताउँदै आएको छ ।

सेनाका अनुसार हाल १५ हेक्टर जग्गामात्रै सेनाले उपयोग गरिहेको छ भने २.५ हेक्टरमा अत्तरिया बसपार्क, रेडक्रस भवन, नगरपालिका मातहत रहेको लामीतालको केहि भाग र ६१ घरधुरी रहेका छन् । अत्तरिया बसपार्क सहितको क्षेत्रमा तारवार गर्न नेपाली सेनाले टेन्डर आह्वान गरेको थियो । सेनाले वैशाख १२ गते नै ३५ दिने सूचना जारी गर्दै आफ्नो भोगाधिकार भएको जमीनमा तारवार गर्न ७० लाख १० हजारमा टेन्डर आह्वान गरेको थियो । तारवारको ठेक्का पाएको श्रीसा एण्ड समायरा कन्सट्रक्सनले काम अगाडी बढाइसकेको छ ।

यो पनि : अत्तरिया बसपार्क सहितको क्षेत्रमा तारबार लगाउन सेनाले गर्यो टेन्डर आह्वान