
डडेल्धुरा – डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ स्थित वीर बलभद्र मावि कोटेलीमा ८१ वर्षीय बहादुरसिंह साउँद कक्षा १ मा भर्ना भएका छन् ।
२०८१ सालमा ८१ वर्षीय साउँद कक्षा १ मा भर्ना भएको विषयले व्यापक चर्चा पाइरहेको छ । हिन्दी र अङ्ग्रेजी बोल्न र लेख्न जान्ने साउँदलाई आफ्नै देशमा पढेर नेपाली बोल्न र लेख्न सिक्नु छ ।

सानैमा नवदुर्गा १ को निनतोला छोडेर मुगलान पसेका साउँदले लामो समय गोर्खा सैनिकमा काम गरे । ‘आफूलाई नेपाली हुनुमा गर्व रहेको तर बोल्न नजान्ने भएपछि नेपालीपन अपुरो भएको महसुस भयो र गाउँकै स्कुलमा नातिनातिना उमेरका केटाकेटीहरूसँग पढ्ने योजना बनाएँ ।’ उनले भने ।
वीर बलभद्र माविका सहायक प्रधानाध्यापक टेकराज ओझाका अनुसार साउद सबैको प्रेरणाका स्रोत हुनुहुन्छ । ‘एउटा विद्यार्थी मात्र भर्ना गरेका छैनौँ कि एउटा असल गुरु भर्ना गरेका छौँ ।’ ओझाले भले भने ।
वीर बलभद्र माविका व्यवस्थापन समिति अध्यक्ष समेत रहनुभएका नवदुर्गा गाउँपालिका–१ का अध्यक्ष शेरसिंह साउँदले लामो समय गोर्खा सैनिकमा कार्यरत बहादुर जस्ता ज्येष्ठ नागरिक समाज र देशकै लागि प्रेरणाका स्रोत भएको बताए । ‘बहादुरसँग दोभासेको भरोसामा कुराको आदानप्रदान हुन्छ ।
नातिनातिना उमेरका बालबालिकासँग पढ्ने विषयमा बहादुरको सकारात्मक प्रतिक्रिया छ । ‘सिकाई उमेरमा भर पर्दैन । केही कुरा म उनीहरूबाट सिक्छु र केही कुरा सिकाउन सक्छु ।’















