सुदूरको राजनितिक नेतृत्वलाई उदांगो पारिदिएको सेती प्रादेशिक अस्पतालको कुरुप तस्विर

Image
तस्विर स्रोत : शंकर खड्काको सामाजिक सञ्जाल
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-४ का राजेन्द्र खड्का बिहिबार बेलुकी सेती प्रादेशिक अस्पताल पुगे । अत्तरिया साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष टीकादत्त जोशी अकस्मात अस्पताल भर्ना भएको खबर सुनेपछि उनलाई भेट्न खड्का त्यहाँ पुगेका थिए ।

सेती अस्पतालमा बिरामीको भिड अत्याधिक हुन्छ भन्ने थाहा भएपनि विपद् बाहेकको समयमा पनि एकै बेडमा दुई जना सुताएर उपचार गर्नुपर्ने अवस्था होला भन्ने उनले कल्पना गरेका थिएनन् । किनकी यस क्षेत्रबाट राजनिति गर्नेहरुको प्राथमिकतामा ‘सेती प्रादेशिक अस्पतालको स्तरोन्नती’ पर्ने भएकोले सहज सेवा उपलब्ध होला भनेर खड्काले बुझेका थिए ।

nisarga

तर त्यहाँ पुग्दा देखिएको दृश्यले उनी निकै दुखि भए । “प्रादेशिक अस्पताल हो, सुदूरपश्चिमका भुँई मान्छेले यहिँबाट उपचार लिने हो, निजिमा सबैले सक्छन् भन्ने छैन तर सरकारी अस्पतालको अवस्था त्यस्तो छ,”उनले भने । गेटामा अरबौँका संरचना अलपत्र पारेर राजनितिक नेतृत्वले नागरिकको स्वास्थ्यमाथी खेलबाड गरिरहेको भन्दै उनले आक्रोश पोखे ।

प्रदेशकै रेफरल अस्पतालका रुपमा रहेको यस अस्पतालको गत असोज पहिलो साता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अनुमगन–निरीक्षण गरे । तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा र सामाजिक विकासमन्त्री झपटबहादुर साउँद पनि शाहका साथमा थिए । उनीहरूले संयुक्तरूपमा अस्पतालको सेवाप्रवाहको अवस्थाबारे जानकारी लिए ।

अस्पतालको ओपिडी (बहिरंग सेवा) र फार्मेसीमा लाइनमा उभिएका सेवाग्राहीसँग कुरा पनि गरे । प्रदेश सरकार गठन भएको ८ महिनापछि प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरू अस्पतालमा पुगेका थिए । अनुमगन–निरीक्षणपछि मुख्यमन्त्री शाहले तीन महिनामा सेती अस्पतालमा देखिने गरी परिवर्तन आउने बताएका थिए । त्यसपछि पनि शाह नै मुख्यमन्त्रीमा दोहोरिएका छन् ।

सुदूरपश्चिमको पहिलो सामाजिक विकासमन्त्री हुँदा दीर्घ सोडारीले सेती प्रादेशिक अस्पताललाई पाँच सय शय्याको बनाउने बताएका थिए तर नतिजा शून्य नै भयो । २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार नारदमुनि राना र नेपाली कांग्रेसका उम्मेदवार डाक्टर आरजु राणाले पनि सेती प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने,बेड सङ्ख्या थप गर्ने प्रतिबद्धता जनाएका थिए ।

राणालाई पराजित गर्दै राना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए तर अस्पतालको स्तरोन्नतिको कुनै प्रक्रिया अघि बढेन । २०७९ को चुनावमा रानालाई पराजित गर्दै नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भए । प्रदेशमा कांग्रेसकै प्रकाश देउवा । उनीहरु दुवैले पनि आफ्ना मुख्य मुद्दामा सेती अस्पताल स्तरोन्नती गर्ने मुद्धा बोकेकै थिए । तर उनी निर्वाचित भएको झण्डै तीन वर्ष पुग्न लाग्दा दुई जनालाई एकै बेडमा राखेर उपचार गर्नुपर्ने बाध्यताबाट अस्पताल उम्किएको छैन ।

बिहिबार जोशीलाई नै भेट्न अस्पताल पुगेका गोदावरी-६ का शंकर खड्काले जोशी र एक अर्का बिरामी गरि दुई जना आकस्मिक कक्षको एकै बेडमा सुताएर उपचार भईरहेको फोटो सामाजिक सञ्जालमा पोस्ट गरे । उनका अनुसार गम्भिर अवस्थामा पुगेका जोशीलाई बेड अभावका कारण करिब डेढ घण्टा ह्विील चेयरमै राखिएको र अन्य विकल्प नभएपछि अर्को बिरामीसंगै सुताएर स्लाइन चढाउन थालिएको थियो । अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठ बिरामीको अत्याधिक चाप हुने हुँदा बेला बेलामा अस्पतालमा यस्तो अवस्था दोहोरिरहने बताउँछन् ।

प्रदेशको राजधानीमा रहेको अस्पतालको आकस्मिक कक्षमा दुई बिरामीलाई एकै बेडमा राखेर उपचार गरिरहको यो तस्विर यहाँका राजनितिक नेतृत्वहरुलाई गिज्याउने एक कुरुप तस्विर मात्रै होईन सुदूरको समग्र स्वास्थ्य सेवाको अवस्था उदांगो पारिदिएको तस्विर पनि हो । दशकौँदेखि यहि अस्पतालको स्तरोन्नतिको विषय भजाएर राजनिति गर्नेहरुलाई गिज्याउने तस्विर पनि हो ।

डाक्टर शेर बहादुर कमर बिरामीहरुलाई एकै बेडमा राखेर उपचार गर्दा संक्रमण एक अर्कामा सर्ने जोखिम हुने बताँउछन् । सेती प्रादेशिक अस्पतालका पूर्व मेसु समेत रहेका उनी नेतृत्वले जनसङ्ख्याको अनुपातमा अस्पतालमा बेड सङ्ख्या थप्न नसकदा अभाव हुँदै आएको र बिरामीलाई फिर्ता पठाउनु भन्दा उपचार गर्न अस्पताल बाध्य हुने बताँउछन् ।

कैलाली क्षेत्र नम्बर ५ धनगढीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्त यस्ता घटनाले आफुलाई झस्काईरहने भएपनि नतिजा देखिने गरि काम गर्न नसकिएको बताँउछन् । “चुनावको समयमा मेरो एजेन्डामा पनि सेती प्रादेशिक अस्पतालको स्तरोन्नति नै मुख्य प्राथमिकतामा थियो तर प्रदेश मातहत भएको हुँदा मैले प्रदेश सरकारलाई पनि अनुरोध गर्दै आएको छु,पन्तले भने सेवा अभावको मुख्य कारण भौतिक संरचना नै हो ।”

संघीय सरकारद्वारा झण्डै १९ करोड रूपैयाँको लागतमा निर्माणाधीन भवन झण्डै ८ वर्षदेखि अलपत्र रहेका कारण यो परिस्थिति सिर्जना भएको उनको भनाई छ । “मेरो निर्वाचन क्षेत्र नै यहि हो,यहिँबाट राजनिति गरिरहेको छु,उनले भने समयसमयमा आइरहने यस्ता घटनाले मलाई पनि लज्जित बनाउने गरेको छ ।” गेटा अस्पताललाई पनि तुरुन्त चुस्त गतिका साथ सञ्चालन गर्नुपर्ने माग आफुले संसदमा उठाउँदै आएको उनले बताए ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का अस्पतालको अवस्था सुधार गर्न पर्याप्त संरचना हुनुपर्ने बताउँछन् । “अहिले अस्पतालसंग पर्याप्त भौतिक संरचना छैन,उनले भने गेटामा पर्याप्त संरचना भएकोले सेतीलाई संघीय सरकारकै जिम्मा दिएर गेटाबाटै सञ्चालन गर्ने तयारी गरिरहेका छौँ,यो विषय छलफलकै चरणमा छ ।” यसो गर्दा गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न पनि सहज हुने उनको भनाई छ ।