
डडेल्धुरा – डडेलधुरामा रहेको सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा बुधबार ‘देईजाँत’ मेला लागि पूजाअजा गरिएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन हुने पूजाआजा मंगलबार राति रतेडी सम्पन्न भएको थियो भने बुधबार बिहान उग्रतारा भगवतीको बिधिवत रुपमा पूजाआजा सम्पन्न भएपछि दिउसोभर मेला लागेको थियो । उग्रताराका पुजारि पण्डित लोकराज भट्टका अनुसार डडेल्धुराको अमरगढी नगरपालिकाका चार वटा गाउँबाट डोली सहित देउरो, पूजापोखल मन्दिरमा पुगाएर बिहान ५ बजेको समयमा बिधिवत रुपमा पूजाआजा गरिन्छ ।
उग्रतारा मन्दिरमा अमरगढी नगरपालिका–५ को जिलोडा, ८ को खनमडा, ६ को दुमडा गाउँ र छचोडा गाउँबाट डोली सहित बाजागाजाका साथ देउरो ल्याईन्छ । बिहानको समयमा पूजाआजा पछि देवताको धामिले भाकाबैजाली हुन्छ ।
दिउसो १२ बजेको समयमा मन्दिरबाट गाँज निकाली बिसाल फाँटमा नचाईदै चार ठाँउमा यहाँका देवता लाई ढोग्ने प्रचलन रहिआएको पण्डित भट्टले बताए। बेलुकीको पूजापछि चार वटै गाउँबाट ल्याईएको डोली सहितका देउरा गाउँमै लगेर देउघरमा राखिए पछि जाँत सम्पन्न हुन्छ ।
देहिजाँतको रूपमा चिनिने उग्रतारा मेलामा सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी देश भारतबाट समेत श्रद्धालु पुगेका उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए । डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को महाकालदी राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित शक्तिपीठ उग्रतारामा लाग्ने मेलामा हजारौं दर्शनार्थी पूजा–आराधना गर्न पुग्ने गर्दछन ।
किम्बदन्तीअनुसार २५ सय वर्ष पहिले हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातीका स्थानीयले हलो जोत्दा शिलामा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास छ । उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ति, मनोकामना पूरा हुने जनविश्वास रही आएको छ ।













