कैलालीमा धानबाली भित्र्याउन भ्याइनभ्याइ

Image
maya metro

धनगढी – कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ। केही दिनअघि वर्षासँगै आएको हावाहुरीका कारण कतिपय किसानका खेतमा काटेको धानबाली पानीले भिज्नुुका साथै धान ढलेको थियो। किसानलाई पानीले क्षति भएको धानबाली स्याहार्न समस्या भएको थियो।

मौसम फेरबदलले पाकेको धानबाली काट्न र भित्र्याउन असहज भएको थियो। तर हिजोआज घामलागेसँगै खेतमा पाकेको धानबाली भित्र्याउन किसानलाई भ्याइनभ्याइ छ । धनगढी उपमहानगरपालिका-३ बडहराको किसान भगतराम चौधरीले हिजोआज धान कटाइमा व्यस्त रहेको बताए। खेती किसानीबाट खानलाउनसहित घर खर्चको जोहो गर्दै आएका उनले खेतमा धान लटरम्म पाकेर झर्ने अवस्थामा पुगेपछि आफूले वर्षभरिका लागि जोहो गरेर खाने अन्न विग्रीने भन्दै चिन्ता व्यक्त गरे।

nisarga

“हिजो आज घरको सबै काम छोडेर खेतमै बढी समय बित्ने गरेको छ”, चौधरीले भने, “झिसमिसे अध्याँरो समयसम्म खेतमै हुन्छौँ र बिहान सबेरै खेतमा जान्छौ ।” महान चाड बडादशैँ नजिकिएसँगै काम सकेर पर्व मनाउने उद्देश्यले किसानको व्यस्तता बढेको देखिन्छन्।

खेतमा धान काट्दै गरेका अर्का किसान सुकराम चौधरीले पनि खेतमा काटेको धान थ्रेसन गर्नको लागि पालो कुर्नु परेको बताए। हातैले धान काट्ने र धानको मुठा चुटेर परम्परागत तरिकाले धान भित्र्याउने गरेका किसानले यतिबेला आधुनिक उपकरण प्रयोग गरिरहेका छन्। किसान पहिले एकअर्कासँग पालोपैचो तथा पर्मा गर्दै हातैले धान काट्ने, चुट्ने र भित्र्याउने गर्दथ्ये भने हिजोआज ती परम्परा विस्थापित हुन थालेका छन्।

नेपालीहरूको महान पर्व बडादसैँ आजदेखि सुरु भइसकेको छ। दसैँको दशमी तिथि आउन केही दिन मात्रै बाँकी छ। छिटोछिटो धानबाली भित्र्याएर पर्व मनाउने मनसायका साथ किसानहरू धानबाली भित्र्याउन आआफ्ना खेतमा सानादेखि ठूला घरपरिवारका सबै सदस्य जुटेका देखिन्छन्। थोरै खेत हुने किसानले थ्रेसर गरेर धान घरमा भित्र्याइसकेका छन्। किसानका खेतमा यस वर्ष सर्जु, मन्सुली, भालेमन्सुली, राधा-४ लगायत विभिन्न उन्नत धानका जात बढी मात्रामा देखिन्छन्।

रासस